
हापुरे, १३ कात्तिक ।
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणकहरुका लागि चार दिने तालिम शनिबार देखी हापुरेमा शुरु भएको छ । स्थानिय जनगणना कार्यालय बबई अन्तरगतका बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा खटिने गणकहरुका लागि आयोजना गरिएको तालिम हापुरेमा रहेको पिपुल्सल्यान्ड ईङ्लीश स्कुलमा उदघाटन गरिएको छ । तालिममा दुईवटा गाउँपालिकाका ७० जना गणकहरु र २ जना अनमी गरि ७२ जनाको सहभागीता रहेको बताइएको छ । स्थानीय जनगणना अधिकारी गंगाबहादुर घर्ति मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बबई गाउँपालिका शिक्षा शाखा प्रमुख मोहनलाल दाहालले गणकहरुले हरेक वस्तीका घरमा पुगेर सत्य तथ्य र महत्वपूर्ण विवरण संकलन गर्नुपर्ने बताउनु भएको छ ।
तालिममा बबई गाउँपालिकाका ३७ जना र शान्तिनगरका ३३ जना गणकको सहभागिता रहेको छ । यहि कार्तिक १६ गते सम्म चल्ने तालिममा १५ र १६ गते सुपरिवेक्षक पनि सहभागी हुने बताइएको छ । तालिमको प्रशिक्षकहरुमा स्थानिय जनगणना अधिकारी गंगाबहादुर घर्ति मगर, बबई गाउँपालिका शिक्षा अधिकारी मोहनलाल दाहाल, माबि पदमपुर हापुरेका प्रअ गणेशबहादुर केसी, माबि बयाले शान्तिनगरका जनसंख्या शिक्षक ताराबहादुर केसी, माबि चरकमटियाका प्रअ ललितकुमार केसी र निर्मला कुमारी पौडेल रहनु भएको छ ।

जनगणना कार्यालय बबईका अनुसार दुई चरणमा विवरण संकलन गरिने छ । पहिलो चरणमा सुपरिवेक्षकहरुले घर तथा परिवार सुचिकरण मार्फत प्रत्येक घर दैलोमा पुगी विभिन्न विवरणहरु संकलन गरेका छन् । दोश्रो चरणमा गणकहरु प्रत्येक घरपरिवारमा पुगेर मुख्य प्रश्नावली मार्फत घर तथा घरपरिवार सूचीकरण फाराम भर्नेछन् । ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा सहित केन्द्रीय तथ्यांक विभागले यहि कात्तिक २५ गतेदेखी मंसीर १० गते सम्म दोस्रो चरणको जनगणना गर्न लागेको हो । प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो ।