
असाेज १५ बाँके ।
बाँकेको गाभरमा बाघले घेरेपछि ज्यान जोगाउन रुखमा चढेका तीन जनाको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५६ बर्षका सेतु ओली, २५ बर्षिया हिरा खड्का, र २४ बर्षिया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।


बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्त्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भन्डारीले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यस तर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।