असाेज १४ काठमाण्डाै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्र अनुसार नै भएको बताउनु भएको छ ।

माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीति अनुसार नै प्रतिनिधि सभा विघटन गरिएको चर्चा गर्दै उहाँले माओवादी रहँदासम्म परिवर्तनका एजेन्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधि सभा विघटन गरिएको भए पनि आफूहरूले नेपाली नागरिकका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गर्नुभयो ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा आएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गर्नुभयो ।

आज बिहीवार पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा बाेल्दै उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर नागरिकका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरूले सशक्त प्रतिवाद गरेको बताउनुभयो ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरूले गरेको बताउनुभयो ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उहाँले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । नेपाली नागरिककाे अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर