हापुरे फागुन २६ गते ।

दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले इलाका प्रहरी कार्यालय हापुरेको भवन उद्घाटन गर्नुपर्ने समयमा शिलन्यास गर्नुपरेको बताउनुभएको छ। इलाका प्रहरी कार्यालय हापुरेको नयाँ बन्ने भवनको आज शिलन्यास गर्दै पालिका अध्यक्ष क्षेत्रीले माथिल्लो निकायबाट बजेट विनियोजन भएको छ भनेर बबई गाउँपालिकाले बजेट विनियोजन नगर्दा उद्घाटन गर्नुपर्ने समयमा सिलन्यास गर्नुपरेको बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पालिका अध्यक्ष क्षेत्रीले खर्च गर्न नसकिने शीर्षकमा बजेट विनियोजन हुँदा सबैलाई अप्ठ्याराे हुने बताउनुभएको छ। उहाँले देशका नियम कानुन र कार्यविधिलाई नटेकेर विनियोजन भएका बजेट फ्रिज हुने गरेकाे बताउनुभयो । अध्यक्ष क्षेत्रीले गतबर्ष प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएका बजेटहरूमध्ये बबईमा करिब पौने ३ करोड बजेट फ्रिज भएको र यसको गाली स्थानीय सरकारले खेप्नु परेको बताउनुभयाे ।

उहाँले बबईका लागि बिनियाेजन भएको बजेट फ्रिज हुदा समग्र कार्यपालिका दुखित भएको बताउँदै आगामी दिनमा प्रदेश र संघबाट विनियोजन हुने बजेट बिना झन्जट खर्च गर्न सक्ने शीर्षकमा विनियोजन गर्न पार्टीका माध्यमबाट सम्बन्धित सरकारमा नेतृत्व गर्ने नेताहरूसम्म पुर्याइदिन सबैलाई अनुरोध गर्नुभएको छ।

अध्यक्ष क्षेत्रीले इलाका प्रहरी कार्यालयको भवन निर्माणका निमित्त स्थानीय सरकारको हिउँदै अधिवेशनबाट ५ लाख रुपैयाँ विनियोजन गरेको बताउँदै सबैको सरोकारको विषय रहेको इलाका प्रहरी कार्यालय हापुरेको भवन निर्माणका निमित्त बबई गाउँपालिकामा सक्रिय सम्पूर्ण सामुदायिक वन संघसंस्था र सरोकारवाला निकाय सबैलाई हातेमालो गर्न अनुरोध गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले नेपाल प्रहरी २०१२ सालदेखि हिमाल पहाड र तराईका विभिन्न क्षेत्रमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने र अपराध अनुसन्धान र नियन्त्रण गर्ने निकाय भएकाले प्रहरीलाई सफल बनाउन सबै निकायको साथ र सहयाेग आवश्यक पर्ने बताउनुभएको छ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पौडेलले स्वार्थ बाजेमा काम हुन नसक्ने बताउनुभयो उहाँले सामाजिक र सेवामूलक संस्थाको भवन निर्माणमा सबैको हातेमालो उत्तिकै आवश्यक रहेको बताउनुभयो। त्यस्तै बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्कबहादुर श्रीसले प्रहरीको भवन निर्माणका लागि स्थानीय सरकारले विनियोजन गरेको थोरै रकममा सामुदायिक वन र अन्य संघसंस्थाले सहयोग गरे सुविधा सम्पन्न भवन निर्माण गर्न सकिने बताउनुभयो।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बबईका अध्यक्ष अन्जु घर्तीले बबई गाउँपालिकाको केन्द्रमा रहेको इलाका प्रहरी कार्यालय हापुरेको हालसम्म पनि आफ्नै भवन नहुनु दुखद विषय भएको बताउनुभएको छ। उहाँले इलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी हंसपुरमा प्रहरी भवन हुनु तर हापुरेमा प्रहरी भवन नहुनु दुखद विषय भएको बताउनुभएको छ । घर्तीले स्थानीय सरकारबाट एउटा सुरुवात भएको बताउँदै प्रहरी भवन निर्माणका निम्ति बबई गाउँपालिकामा सक्रिय सबै संघसंस्था र सरोकारवाला निकायहरु एक हुनुपर्ने समय आएको बताउनु भयाे ।

कार्यक्रममा बोल्दै वैज्ञानिक वन महासङ्घका केन्द्रीय महासचिव पर्षराम भुषालले बबई गाउँपालिकामा १९ वटा सामुदायिक वनहरू वन संवर्धन प्रणालीमा आधारित रहेको बताउँदै उनीहरू सबैले आफ्नो आम्दानीको केही प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्न सक्ने प्रावधान रहेको बताउनुभएको छ। उहाँले स्थानीय सरकारसँगको समन्वयमा सामुदायिक वनहरुले सामाजिक विकासमा खर्च गर्न सक्ने भन्दै सबै सामुदायिक वनहरुले सहयोग गर्न सके हापुरेमा निर्माण हुने इलाका प्रहरी कार्यालय हापुररेको भवन सुविधा सम्पन्न भवनका रुपमा निर्माण गर्न सकिने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै पूर्वहापुरे सामुदायिक बनका अध्यक्ष डम्बरबहादुर श्रीस मगरले हापुरेमा निर्माण हुन थालेको प्रहरीको भवन इष्टमिट र डिजाइन गरि र सुविधा सम्पन्न भवनको रूपमा निर्माण थाल्न आग्रह गर्नुभयो। उहाँले एकपटक निर्माण सम्पन्न संरचनाहरूलाई पछि भत्काउन नपर्ने गरी निर्माण थाल्न आग्रह गर्नुभयाे । उहाँले निर्माण कार्यमा सामुदायिक वनहरुले काठ लगायतको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको छ। यता पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्र बहादुर खड्काले पनि इलाका प्रहरी कार्यालय हापुरेको भवन निर्माणका निमित्त सहयोग गर्न पदमपुर सामुदायिक वन तयार रहेको बताउनुभएको छ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख खिम बहादुर खड्काले २०६७ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय हापुरेमा हालसम्म पनि आफ्नो भवन नहुनु गम्भीर बिषय भएको बताउनुभएकाे छ । न्यून जनशक्ति र जिर्ण संरचनाका बिच शान्ति सुरक्षाका काममा कृयाशिल सुरक्षाकर्मी हरु १५ बर्षदेखी भाडामा बस्नु दुखत बिषय भएको भन्दै भवन निर्माणकाे सुरुवात गर्ने बबई गाउँपालिका तथा सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्कबहादुर श्रीस मगरको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाह र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक अनिल ठकुरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, ब्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर