
तुलसीपुर, २ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल विकास समिति खारेज गरेको छ । लुम्बिनी प्रदेशको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको हो । यो संगै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित लुम्बिनी प्रदेशमा रहेका १३ प्रादेशिक अस्पताल विकास समिति खारेज भएका छन् । मापदण्ड बिना अस्पताल विकास समिति गठन भएकाले खारेज गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयो ।


त्यसैगरी प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ ।त्यस्तै आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि, २०८०, चालीस वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला) रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरेको छ ।