
रामप्रसाद सुवेदी ।
कालिमाटी, बैसाख ३ गते। सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सीले देशमा ब्यबस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ। कालिमाटी गाउँपालिका द्वारा आर्थिक बर्ष २०७९÷८० को बजेट अन्तरगत खरको छानो बिस्तापित कार्यक्रमको उद्घाटन गर्दै केसीले देशमा २००७ सालदेखि अहिलेसम्म धेरैपटक सत्ता र शासनहरु परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनुभएको हो ।


अध्यक्ष केसीले जनताको अवस्था परिवर्तन गर्न पालिकाले खरको छानो बिस्तापित कार्यक्रम अघि सारेको बताउनुभएको हो । निर्वाचनका क्रममा आफुले जनतासंग गरेका हरेक बाचा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउदै केसीले आफनो घोषणापत्र अनुरुप नै खरको छानो बिस्तापित कार्यक्रममा ३ करोड रुपैयाँ बिनियोजन गरि पहिलो चरणमा पालिका भित्रका २ सय ८० परिवारलाई जस्तापाता बितरण गरिएको र यसलाई निरन्तर अगाडि बढाउने बताउनुभयो ।
स्थानिय सरकारको राम्रो कामको प्रसंसा र नराम्रो काममा खबरदारी गर्नुपर्ने बताउदै केसीले कालिमाटी गाउँपालिकामा राम्रो काम गर्दागर्दै पनि एकथरी समुहले अप्ठ्यारो पार्न पटकपटक अख्तियारमा मुद्दा दायर गर्ने गरेको बताउनुभयो । उहाले जनताको काम गरेकै कारण पालिका उपाध्यक्ष र केहि कर्मचारीहरु समेत निलम्बनमा परेको बताउदै जुनसुकै परिस्थितिमा समेत सम्बृद्द पालिका र सुखि जनता बनाउन लागिपर्ने बताउनुभयो ।
समाजमा गरीखाने बर्ग र गराईखाने बर्ग गरि २ प्रकारका ब्यक्तिहरु रहेको बताउदै केसीले गरिखाने बर्गको पक्षमा पालिकाले काम गर्दा गराईखाने बर्गलाई त्यो कुरा चित्त नबुझ्ने र पालिकालाई अप्ठ्यारो पार्न यहीँ बर्ष मात्रै १८÷२० वटा मुद्दा अख्तियारमा दर्ता भएको केसीले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले बिपन्न बर्गको जिवनस्तर माथि उकास्न र खरको छानामा बसेर जस्तापाता खरिद गर्न नसक्ने अवस्थाका स्थानीयलाई यो कार्यक्रमले स्थानियको जिवनस्तर सुधार हुने र आगलागी जस्तो बिपदबाट समेत वच्न सकिने अपेक्षा गरेको बताउनुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष शिव बहादुर खत्रीले कुनैपनि पाटि, जाति, धर्म कसैलाई पनि भेदभाव नगरी आर्थिक अवस्था न्यून भएका परिवारलाई प्राथमिकतामा राखि सिफारिस गरेको बताउनुभयो । पालिकाबाट जस्तापाता प्राप्त गरेपछि स्थानिय खुसि भएका छन् । बर्खाको समयमा घर चुहिने समस्याले ब्याप्त स्थानिय अब भने सहज हुने अपेक्षा गरेका छन् ।