काठमाडौं ५ चैत ।
सरकारले रासायनिक मलमा दिँदै गरेको अनुदान कटौती गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेको कृषि मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै गरेको अनुदानमा कटौती गरेको थियो ।

उक्त अनुदान कटौती गर्ने निर्णय स्वयम् कृषिमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डले गर्नुभएको हो । त्यसअघि रासायनिक मलमा समग्रमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको सरकारले त्यसमा कटौती गर्दै समग्रमा ५९.०४ प्रतिशतमा कायम राखेको छ । सरकारले उक्त अनुदानलाई ५० प्रतिशतसम्म झार्ने लक्ष्य रहेको बताएको छ । त्यसले मूल्य थप बढ्न जान्छ ।

 

सोहि विषयलाई लिएर सांसदहरुले विरोध गरेका हुन् । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले मलमा दिँदै गरको अनुदान कटौती गरेर किसानमाथि ज्यादती गरेको आरोप लगाउनुभयो । यस्तै, जसपाका सांसद राजकिशोर यादवले सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो । यस्तै, काँग्रेसका सांसद रामहरि खतिवडाले मलमा दिँदै आएको अनुदानमा वृद्धि गर्नुपर्नेमा घटाएर ठिक नगरेको बताउनुभयो ।

यस्तै, एमाले सांसद लिलानाथ श्रेष्ठले वर्तमान सरकार किसानलाई मलमा दिँदै गरेको अनुदान कटौती गरेर गैर जिम्मेवार बनेको आरोप लगाउनुभयो । मलमा अनुदान कटौती गरेपछि किसानले युरियालाई प्रतिकेजी २५, डिएपीलाई ५०, र पोटासलाई ४० रुपैयाँ प्रतिकेजी तिर्नु पर्ने हुन्छ । त्यसअघि किसानले युरियालाई १४ रुपैयाँ प्रतिकेजी, डिएपीलाई ४३ र पोटासलाई ३१ रुपैयाँ प्रतिकेजी तिर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर