प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरी निवासी ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिनुभएको छ । उनीहरु तिनैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५ निवासी ५० वर्षीया फागुनी खत्री, सोहिठाउ निवासी ५० वर्षीय गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालमा सामान्य उपचार पछी बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतको टोली गएर उद्धार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर