
निर्वाचन आयोगले हाल जारी रहेको मतदाता नामावली सङ्कलन आज देखि बन्द गर्ने भएको छ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गरे लगतै पत्रकार सम्मेलनको आयोजना गरी आयोगले आज देखि मतदाता नामावली सङ्कलनको काम बन्द हुने बताएको हो । साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ ।
आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो ।उहाँले आवश्यकता अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताउनुभयो । उहाँले पत्रकारलाई सूचना सङ्कलनका लागि समस्या नहोस् भनेर छुट्टै प्रेस कार्यालयको स्थापना गरिने पनि उल्लेख गर्नुभयो ।