
डोटीको केआईसिंह गाउँपालिका ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितणसमेत रोक्ने निर्णय गरे संगै गाउँपालिकाले उक्त निर्णय गरेको हो । सो वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो ।
वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको उहाँको भनाइ छ । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।

