
सिरमा ढाँकाटोपी, आँखामा चस्मा सेतो सर्ट र कालो पाईन्टमा कालै जुत्ता लगाएर साना, साना नानी बाबुको बिचमा वसेर किताव फर्काईरहेका ब्यक्तिको नाम रिमबहादुर खड्का हो । झट्ट हेर्दा शिक्षक जस्ता देखिने रिमबहादुुर कक्षा ५ मा अध्ययन गर्ने बिद्यार्थी हुनुहुन्छ ।
रिमबहादुर खड्का अहिले ६१ वर्षको हुनुभयो । उहाँको घर बबई गाउँपालिका वडा नम्बर ५ सिमगैरा भन्ने ठाउँमा हो । रिमबहादुरले अहिले बबई ५ कोे आवि खयरभट्टीमा कक्षा ५ मा पढ्दै हुनुहुन्छ । उमेरले जेष्ठ नागरिक भईसकेका खड्का गाउँका नाती, नातिनी संग कक्षा ५ मा पढ्नुहुन्छ । बिहान ९ वजे खाना खाएर, झोला बाकेर १० वजे बिद्यालयको प्राङ्गणमा लाईन लाग्न पुग्ने खड्काको सानै देखी पढ्ने ईच्छा भए पनि अहिलेमात्र त्यो ईच्छा पुरा हुँदै गएको हामी संग बताउनु भयो ।

सानो उमेरमा जानु पर्ने स्कुलमा ६१ वर्षको उमेरमा जाँदा आफु बच्चै भएको जस्तो अनुभुती हुने गरेको उहाँले बताउनु भयो । उहाँ भन्नुहुन्छ “पढ्न उमेरले छेक्दो रैन्छ, नाति नातिनि संग पढ्न आएको छु यो ज्ञान लिने कुरा हो । त्यसैले ज्ञान लिने कुरालाई उमेरले केही प्रभाव पार्दैन ।” शिक्षा विना जिवन अधुरो रहेको बताउने खड्काले अहिले पढ्न पाउदा रमाईलो लाग्ने गरेको बताउनु भयो ।
आफु सानो छदाँ पढ्न नपाएको नमिठो अनुभव सुनाउदै उहाँले भन्नु भयो “घरको जेठो छोरो भएर होला आफु नपढेर भाईहरुलाई पढाईयो, तेस पछि फेरी छोराछोरी लाई पढाउनु पर्ने भयो फेरी बुहारीहरु हुँदै नाती नातिनी सम्मलाई पढाउदा पढाउदै ६१ वर्ष पुगियो । अव अबेला भयो जस्तो त लाग्छ तर पनि फुर्सदको समयमा पढ्नै पर्छ भन्ने लायो र ५ कक्षामा भर्ना भएको छु ।”
खड्काले आफु ६१ वर्ष पुगे पनि एसईई पास गर्दा सम्म पढ्ने बताउनु भयो । जिवनको उत्तरार्धमा पढिरहेका खड्काले अध्ययन विना जिवन अधुरो रहेकाले शिक्षा सबैले लिनु पर्ने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “ अहिलेका वालवालिकाले पढाईमा खास्सै ध्यान दिएको पाईदैन, उनीहरु अहिले त लहलहैमा लागेर होला पढाई तिर ध्यान दिदैनन् तर शिक्षा विनाको जिवन कति असहज छ त्यो कुराको महसुस हुँदा सम्म अवेला भैसकेको हुन्छ, त्यतीबेला याद आउछ । म ६१ वर्षको उमेरमा त्यत्तिकै पढ्न सुरु गरेको हैन, अशिक्षाले मान्छे धेरै पछि पार्छ ।”
लहलहैमा लागेर बिद्यालय जान छाडेका पढ्न मन नगर्नेहरुलाई उहाँले बेलैमा सोचेर उमेर छँदै शिक्षामा लगानी गरेर प्रगति गर्न अनुरोध गर्नुभयो । शिक्षा मात्रै जिवनको सफलताको एउटा ठुलो हतियार भएकाले छोडेर बसेका उमेर भएका मान्छेले पढ्नै पर्ने उहाँको सुझाव छ ।
६१ वर्षको उमेरमा बिद्यालयमा भौतिक उपस्थिती मै पढ्न सुरु गरेका खड्का समाजको एउटा प्रेरणा बन्नु भएको छ । उहाँको अनुभवले शिक्षा ठुलो शक्ति हो भन्ने कुरालाई सावित गरेको छ । उहाँको यो कदम शिक्षा हासिल गर्न उमेरले कुनै प्रवाभ नपार्ने कुराको पनि उदाहरण हो । रिमबहादुर खड्का पढ्न मन नगर्नेहरुका लागी त झन प्रेरनाका स्रोत समेत बन्न सफल हुनु भएको छ ।