
पश्चिमदाङको बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काले आफ्नो पूर्ण सुरक्षा प्रत्याभुतीको माग गर्नु भएको छ । आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै पूर्ण सुरक्षाको प्रत्याभुती भएमात्र गाउँपालिकामा गएर पदिय जिम्मेवारी निभाउनेबताउनु भएको छ । शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत उपाध्यक्ष खड्काले केहि व्यक्तिले विभिन्न आरोप लगाई गाली गलौज गर्ने, कार्यकक्षमा उपस्थिति भई पदिय जिम्मेवारी र दायित्व पुरा गर्न नदिएको भन्दै पूर्ण सुरक्षाको माग गर्नुभएको हो ।


यतिबेला पश्चिमदाङमा बहसका रुपमा यसै विषयलाई लिदै आइएको छ । चिया गफ, सितल चौतारी होस् या सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस हुदै आएको छ । उपाध्यक्ष खड्कालाई जनमतको कदर नगरी गुटउपगुटमा लागेको आरोप कार्यकर्ताले लगाउने गरेका छन् । बबई गाउँपालिकामा ३७ जना निर्वाचित प्रतिनिधि मध्ये नेपाली कांग्रेस २० जना र एमालेका १७ जना थिए । कार्यपालिका चुनावमा नेपाली कांग्रेस भित्रै अन्तरघात हुँदा कांग्रेसका उम्मेदवारले हार व्यहोर्नु प¥यो ।
यसको आरोप उपाध्यक्ष खड्कालाई लगाइएको छ । यसबारे विभिन्न किसिमका टिका टिप्पनी भइरहेको बेला उपाध्यक्ष खड्काले सुरक्षाको माग गर्नु भएको हो । उपाध्यक्ष खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ‘आदरनिय बबईबासी दाजुभाइ दिदी बहिनीहरु । मलाई विभिन्न आरोप लगाई केहि व्यक्तिहरुले गालि गलौज गर्ने कार्यकक्षमा उपस्थिति भई मेरो जिम्मेवारी र पदिय दायित्व पुरा गर्न नदिने काममा गर्ने बेइञ्जत गर्ने गरी फोनमा तथा सामाजिक सञ्जालमा पनि धम्की दिइरहेकाले मेरो पूर्ण सुरक्षाको प्रत्याभुति भएमा मात्र उपस्थित भई मेरो जिम्मेवारी पुरा गर्नेछु । मलाई लाएको आरोप निराधार कपोल कल्पित छ त्यसमा कुनै सत्यता छैन् ।’