
तुलसीपुर बैसाख २८ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवारको मुत्यु भएपछि ३० वैशाखमा हुने भनिएको निर्वाचन स्थगित भएको छ । नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका लबरु चौधरीको सोमबार राति मुत्यु भएपछि उक्त वडाको निर्वाचन स्थगित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
निर्वाचन अधिकृत रितेन्द्र थापाले उक्त वडाको निर्वाचन ३ जेठमा हुने भएको जनाकारी दिनुभयाे । उहाका अनुसार २८ र २९ गते उम्मेदवारी मनोनयमन दर्ता र दाबी विरोधका लागि समय छुट्टाइएको छ । स्थानीय तहको निर्वाचनमा कुनै उम्मेदवारको निधन भएमा राजनीतिक दलले अर्को उम्मेदवार उठाउनुपर्छ । चौधरीको मृत्युपछि अर्को उम्मेदवारको टुंग्गो लगाउन बैठक बस्ने तयारी भइरहेको एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले बताउनुभयाे ।


एमालेबाट उम्मेदवार बन्नुभएका चौधरी केही दिन अघि चुनाव प्रचारको क्रममा बिरामी परेपछि उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । उपचारको क्रममा सोमबार राति चौधरीको मृत्यु भएको थियो । तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँले यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर काम गर्नु भएको थियाे ।’