
सल्यानमा चुनाव प्रचारमा हिडेको गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका २ दानीचौरका १८ बर्षिय खुमराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार भुपेन्द्र घर्ति मगर सहितको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्वरको जीपको छतबाट शनिवार विहान ११ बजे खसेर गम्भिर घाईते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
स्थानिय तहको निर्वाचनमा कांग्रेसका उमेदवारहरुको चुनाव प्रचारप्रसारमा हिडिरहेको गाडीको छतबाट खस्दा थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । थापालाई सोहि गाडीले उपचारका लागी तुलसीपुर ल्याएको थियो । थापाको मृत्यु भएपछि गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

