सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा निर्णायक कुराकानी हुने नेताहरूले दावी गरेका छन् । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि हिजो बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा आजसम्म टुङ्गो लगाउने सहमति भएको थियो ।

 

देशभरि ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । हिजोको बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले जितपुर सिमरा, घोराही, धरान र हेटौँडाको नेतृत्व चाहिने बताउनुभएको थियो । जनता समाजवादी पार्टिले विरगञ्ज र एकीकृत समाजवादीले पोखरा लिने तथा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका काँग्रेसलाई दिने प्रस्ताव आएको छ ।

 

एकिकृत समाजवादीले इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको दाबी गरेको छ । यता काँग्रेस प्रवक्ता प्रकाश शरण महतले गठबन्धनबाट आएको अस्वभाविक प्रस्तावलाई मान्न नसकिने र यसबारेमा थप छलफल गरेर टुङ्गोमा पुगिने बताउनुभयो । राष्ट्रिय जनमोर्चाले भने अर्घाखाँची, प्यूठान र बाग्लुङको ३ पालिकाको प्रमुख तथा ४ पालिकामा उपप्रमुख दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर