
१९ चैत्र ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समास्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताउनुभएको छ । उहाँले नेपाल–भारतबीचको सीमा विवाद विषयलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आज भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो । त्यस्तै, भ्रमणको दोस्रो दिन आज चारवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान गर्ने सम्झौता भएको हो ।
यस्तै प्रधानमन्त्री देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट माग्नुभएको छ । भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा प्रधानमन्त्री देउवाले नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गर्नुभएको हो । नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल भएको र महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेको जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उहाँको भनाइ छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्रगतिमा अगाडि बढाउन सहमति भएको बताउनुभएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री देउवासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमती भएको बताउनुभएको हो ।