
१, चैत ।
सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेको घटना सार्वजनिक भएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार गत फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डौ महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट भएको हो । लुटपाट तथा चोरी घटनामा संलग्न भएका मध्ये प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिंह रहेका छन् । अन्य फरार भएको र उनीहरुको जी भइरहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले एक लाख ६६ हजार रुपैयाँ र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरबारलगायत सामग्री बरामद गरेको छ ।चाबहिलमा रहेको ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि त्यस घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजना समेत बनाएर लुटेका छन् ।त्यस घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।