
तुलसीपुर, ७ फागुन । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती सहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने अन्दाजी ५४ बर्षिय लप्टेन चौधरीको हत्या गरेको आरोपमा उहाकी श्रीमती ५० बर्षिया उमादेवी चौधरी र सोहि वडाको मसुरिया बस्ने ५२ बर्षिय हनुमान चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । गत बिहीबार बेलुकी छ बजेतिर राप्ती नदी किनारामा मृत भेटिएका चौधरीको बारेमा अनुसन्धान गर्दै जाँदा उनीहरुले योजनाबद्ध तरिकाले हत्या गरी फालेको डिएसपी रिजालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक चौधरीकी श्रीमतीले श्रीमान फागुन १ गते विहान साढे छ बजे घरबाट काम गर्न जान्छु भनेर गएको र हाल सम्म पनि सम्पर्कमा नआएको भन्दै खोजी गरी पाउँ भनेर गत विहिवार प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो । चौधरीले दिएको निवेदनको आधारमा खोजी गर्ने क्रममा चौधरीको शव फेला परेको थियो । सोहि घटनाको अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमती विचको सम्बन्ध राम्रो नभएको हुदा परपुरुष संग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

मृतक चौधरीले श्रीमतीले हनुमान चौधरीसंग अनैतिक सम्बन्ध गरेको थाहा पाएपछि वेईजत गर्नुको साथै श्रीमतीलाई कुटपिट गरेकाले मार्ने योजना अनुसार हत्या गरिएको प्रहरीले बताएको छ । मृतक चौधरीले आफु माथी कुटपिट गरेको कुरा परपुरुष हनुमान चौधरीलाई जानकारी गराएपछि आरोपित चौधरी राती १० बजे कोठामा आएर चौधरीलाई हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरी राप्ती नदीको किनारामा लगेर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी रिजालले जानकारी दिनुभयो । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।