
काठमाडौं ७ पुस ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र देशका ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटेकोे बताउनु भएको छ ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाख भित्र निर्वाचन गर्न आयोग गम्भीर रहेको उहाँको भनाइ छ ।


काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकार समक्ष सिफारिस गर्ने पनि बताउनु भयो ।
त्यसपछि २०७९ फागुन भित्रमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको प्रमुख आयुक्त थपलियाले बताउनु भयो । उहाँले आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताउनु भएको छ ।