
काठमाडौं ११ मंसिर ।
हिजोदेखि धुम्म भएको मौसम तत्काल खुल्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पूर्वी वायुको प्रभावले भारतका विभिन्न ठाउँबाट प्रदुषणयुक्त हावा नेपाल आएको र नेपालकै विभिन्न ठाउँबाट निस्किएको धुवाँ र धुलोले प्रदुषण बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार वर्षा र तीव्र्रगतिको हावा नचलेसम्म यो प्रदुषण कम हुने देखिएको छैन । अहिलेलाई ठूलो पानी पार्ने वा तिब्रगतिको हावा चल्ने प्रणाली नदेखिएको उहाँको भनाइ छ । तर गएराति बङ्गलादेश आसपास बनेको न्यूनचापिय प्रणालीको आंशिक प्रभावले देशका एकदुई ठाउँमा हल्का पानी पर्नसक्ने उहाँले बताउनुभयो ।


हल्का पानी परेपनि हिजोदेखि धुम्मिएको मौसम केही खुल्ने मौसमविद् सापकोटाको भनाइ छ । अहिले तीव्रगतिको हावा पनि नलागेको र पानी पनि नपरेकाले तुँवालो लाग्दा मौसम बदली भएको उहाँले जानकारी दिनुभयो । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् सापकोटाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।