
चितवन १० मंसिर ।
नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ बस्दैछ । नारायणी नदी किनारमा भएको उद्घाटन समारोहपछि साँझ ८ बजे सौराहमा बैठक बोलाइएको छ ।


केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् । नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा तीव्र छ । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
गते असोज १५–१७ मा भएको विधान महाधिवेशनबाट संशोधित एमालेको विधानअनुसार केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ छ । स्रोतका अनुसार केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।
तर पदाधिकारी बढाउन भने ओली तयार देखिएका छैनन् । हालको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी रहने छन् । नेताहरुले भने यसलाई २१ वा २३ सम्म पुर्याएर भएपनि सहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने बताइरहेका छन् ।